जनयुद्धताका माओवादी नेपाली क्रान्तिको आफ्नै मोडेल भएको दाबी गथ्र्यो । व्यवहार र आचरणमा एकरूपता हुनुपर्ने तर्क गथ्र्यो । पछिल्लो शान्तिवार्तामा आउँदा नेताहरू एउटै पोसाकमा पनि देखिएका थिए । अन्तरिम विधायकहरू सबै खरानी रंगको पोसाक लगाएर सिंहदरबार पसेका थिए । तर, यो एकरूपता लामो समय टिकेन । अहिले पनि माओवादीका अधिकांश सभासद् पार्टीले तोकिदिएको कोट र पाइन्टमा देखा पर्छन् । तर, शीर्ष नेताका लागि त्यस्तो अनिवार्यता छैन । सर्वहाराको जस्तो जीवनशैली बाँच्नुपर्छ भन्ने पार्टीका शीर्ष नेताको दैनिकी र रुचि कस्तो छ त ? यहाँ माओवादी अध्यक्ष प्रचण्ड र दुई उपाध्यक्ष क्रमशः मोहन वैद्य 'किरण' र बाबुराम भट्टराईको दैनिकी र रुचि प्रस्तुत छः
पुष्पकमल दाहाल 'प्रचण्ड’
घरभाडा मात्रै ४५ हजार
माओवादी अध्यक्ष प्रचण्ड बिहान पाँच बजे उठ्छन् । नियमित व्यायाम गर्दैनन् । बिहान रोटी र तरकारी उनको खाजा हो । तर, दिउँसो कहिलेकाहीँ मात्र खाजा खान्छन् । बिहानैदेखि भेटघाटमा व्यस्त हुन्छन्, उनी । पार्टीका आन्तरिक बैठक, अरू पार्टीसँगको छलफल र कूटनीतिक नियोगका मानिस र भेट्न चाहने सबैसँग समय मिलाएर भेट्छन् ।
खास ब्रान्ड नभए पनि राम्रै स्तरका कपडा लगाउँछन्, उनी । दैनिकजसो सार्वजनिक कार्यक्रममा उनको कपडा फरक-फरक हुन्छन् । छोरी रेणुका अनुसार, भारतमा भूमिगत बस्दा प्रचण्ड कहिलेकाहीँ आफैँ कपडा किन्न बजारमा जान्थे । आज-भोलि उनी आफै बजार कपडा किन्न गएका छैनन् । अहिले आफू जाँदैनन्, आफन्तले ल्याउँछन् । बरु प्रचण्डले 'यस्तो कलर' है भन्छन् । प्रचण्डका लागि उपहारसमेत ल्याउँछन्, धेरैले ।
उनलाई पत्नी सीता, छोरा प्रकाश र छोरीहरू कपडा ल्याइदिन्छन् । आममानिसका भन्दा केही महँगा कपडा त हुने नै भए प्रचण्डका । छोरी रेणु प्रचण्डको खास ब्रान्ड कपडा नभएको बताउँछिन् । लोकल कुखुराको मासु र माछा मन पराउँछन्, प्रचण्ड । बिरामी परेपछि डेढ वर्षयता खसीको मासु खान छाडेका छन् उनले । 'आजकल निकै कम मासु खानुहुन्छ,' रेणुले सुनाइन्, 'खानै परे थोरै माछा खाने हो ।' तर, खानामा हरियो साग उनलाई नभई हँुदैन । ढिँडो पनि मन पर्छ, उनलाई । बेलुका कहिलेकाहीँ रोटी खान्छन्, उनी । बेलुका समय मिले भारतीय टिभी च्यानलमा आँखा लगाउँछन् । खाजामा ममः मन पराउँछन्, उनी । 'उहाँलाई ममः जेको भए पनि हुन्छ,' रेणुले सुनाइन् । बेलुकाको खानामा दाल-भात चल्छ । उनी दस बजेतिर सुत्छन् ।
प्रचण्ड हल्कारूपमा मदिरा रुचाउँछन् । मिल्ने साथीसँग बसेर मदिरा पिउँछन् । कहिलेकाहीँ पार्टीका नेताले नै साथ दिन्छन् । उच्च सुरक्षा घेराभित्र हिँड्ने प्रचण्ड महँगो गाडी चढ्छन् । प्रधानमन्त्री हुँदा प्रयोग गरेको गाडी नै चढेका छन्, अहिले पनि उनले । मासिक ४५ हजार भाडा लाग्ने नयाँबजारस्थित घरमा बस्छन् । उनको खर्च यति नै भन्ने हुदैन ।
मोहन वैद्य 'किरण’
मासिक खर्च ३० हजार
वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण बिहान चार बजे उठ्छन् । उठेपछि सबैभन्दा पहिले उनलाई चिया चाहिन्छ । उनी कालो चिया पिएर आधा घन्टा समाचार सुन्छन् र पत्रपत्रिका पढ्छन् । बिहानैदेखि भेट्न आउने कार्यकर्ताको भीड लाग्छ । 'बिहानको खाना दस बजेतिर हुन्छ,' छोरी चेतनाले भनिन् ।
किरणको खानामा रोजाइ भन्नु दाल, भात, तरकारी र अचार हो । हरियो साग बढी मन पराउँछन्, उनी । पिँडालुको गाभा झनै रुचाउँछन् । दिउँसो घरमा रहँदैनन्, उनी । बाहिर खाजा निकै कम खान्छन्, उनी । तुम्लेटमा तातोपानी बोकेर हिँड्छन् र स्वास्थ्यमा ख्याल गर्छन् ।
खाजामा उसिनेको मकै मन पर्छ, उनलाई । सार्वजनिक भोज-भतेर र पार्टीमा उनी त्यति जाँदैनन् । औषधि खानुपर्ने भएकाले सकेसम्म घरमै खाना खान रुचाउँछन् । 'माछामासु कम रुचाउनुहुन्छ,' चेतना भन्छिन् 'खाए पनि एक/दुई टुक्रा मात्र ।' पोसाकमा खासै रुचि छैन, किरणको । पहिला उनी कोट पनि लगाउँदैनथे । संविधानसभा सदस्य भएपछि त्यसैका लागि कोट सिलाए । 'सर्ट-पाइन्टमै हिँड्नुहुन्छ,' चेतनाले भनिन् ।
माक्र्सवादी सौन्दर्यशास्त्रका ज्ञाता मानिन्छन्, उनी । मदिरा लिँदैनन् । मासिक २५/३० हजार खर्च हुन्छ, घरभाडामा । युद्धकालमा पनि यिनी खर्चालु नेतामा पर्दैनथे । ०६० मा जेल परेपछि उनी शान्तिप्रक्रियाको सुरुसँगै छुटेका हुन् । कपडामा खासै ब्रान्ड छैन, छोरीहरूले जस्तो ल्याउँछन्, त्यस्तै लगाउँछन् । उनी महँगो गाडी चढ्छन् । महिन्द्रा स्कोरपियो गाडी छ, उनीसित । करिब ३० लाखको, जुन निजी होइन, पार्टीले दिएको हो ।
डा. बाबुराम भट्टराई
मासिक खर्च ३५ हजार
डा. बाबुराम भट्टराई तडकभडक जीवनशैली नरुचाउने नेता हुन् । उनी बिहान पाँच बजे उठ्छन्, समाचार सुन्दै, पत्रपत्रिका पढ्दै तुल्सीको चिया पिउँछन् । चियासँगै दुई टुक्रा बिस्कुट लिन्छन् । अनि सुरु हुन्छ, उनको पढाइ । एक्लै बसेर खुबै अध्ययन गर्छन्, उनी । बिहान आठदेखि नौ बजेसम्म केही जरुरी भेटघाट गर्छन् । 'एकदमै कम मान्छेसँग भेट गर्नुहुन्छ,' सहयोगी विश्वदीप पाण्डे भन्छन् ।
भट्टराई बिहान १२ बजे मात्र खाना खान्छन्- दाल, भात । राति नौ-दस बजेतिरको उनको खाना हो- रोटी र तरकारी । उनलाई कुखुराको मासु र माछा मन पर्छ । तर, माछामासु नियमित खाँदैनन् । सार्वजनिक पार्टीमा उनी जान चाहँदैनन् । कूटनीतिक महत्त्वका पार्टीमा भने सहभागी हुन्छन् । औपचारिकता र सम्बन्धका लागि मात्र सहभागी हुन्छन् । मदिरा खाँदैनन्, उनी । राति ११ बजेपछि सुत्छन्, भट्टराई । कहिलेकाहीँ सुत्नुअघि मन परेको फिल्म हेर्छन् ।
उनलाई सामान्य पोसाक मन पर्छ । सर्ट-पाइन्ट र कहिलेकाहीँ पाइन्टसँग टिसर्ट लगाउँछन्, उनी । कहिलेकाहीँ कपडा रोज्न उनी आफँै बजार जान्छन् । सहयोगी र परिवारजनकै सदस्यले कपडा ल्याइदिन्छन्, उनका लागि । उनको पनि खासै ब्रान्ड छैन । 'सस्तो र राम्रो' कपडाबारे उनको सूत्र हो यो । उनी पनि पार्टीले दिएको स्कोरपियो गाडीमा चढ्छन् ।
नेता भट्टराईको घरभाडासहित मासिक ३५ हजारको हाराहारीमा खर्च हुने गरेको पाण्डेले बताए । भट्टराई शान्तिनगरमा २०/२२ हजार भाडाको घरमा बस्छन् । त्यसै घरमा बस्छिन्, माओवादीनेतृ तथा बाबुरामपत्नी हिसिला यमी पनि ।
प्रस्तुतिः नेत्र