म ३० वर्षकी भएँ। तीन छोराछोरीसँग कञ्चनपुरको एउटा गाउँमा बस्छु। मैले घरमा छोरी भएर, बिहेपछि श्रीमती भएर हुन्छ र हवस् भन्न मात्र सिकेँ। श्रीमान बितेको अहिले दश वर्ष भयो। अचेल बल्ल पछुतो मान्दैछु, मन नपरेको र चित्त नबुझ्ेको कुरामा नाइँ नभनेर मैले ठूलो गल्ती गरेछु।
२०५२ सालमा बिहे भयो। केटा कस्ता थिए, के गर्थे मलाई केही थाहा थिएन। बाबुआमाले जो खोजिदिए, उसैसँग बिहे गरेँ। नाइँनास्तिको त कुरै छोडौं, केटो कस्तो लाग्यो भनेर पनि मलाई कसैले सोधेनन्। कमाउनका लागि भनेर बिहे भएको दुई-चार महिनामै श्रीमान मुग्लान पसे।
श्रीमान भारतमै हुँदा पहिलो छोरो जन्मियो। त्यसको केहीपछि उनी घर आएर बसे अनि उतै फर्के। म दुईजीउकी भएँ। दोस्रो सन्तानको रूपमा छोरी जन्मिइन्। परिवार बढ्दै गयो। जति दुःख गर्दा पनि खान-लाउन धौ-धौ थियो। तैपनि एकदिन श्रीमान फर्केलान् र दुःख बाँडौंला भन्ने सोच थियो।
श्रीमान एक दुई वर्षमा आउँथे र मेरो पेटमा अर्को बीउ रोपेर फर्कन्थे। दुईजना बच्चा भए; अब पुग्यो भनेर मैले कहिल्यै भन्न सकिनँ। उनी जसो भन्थे मैले मान्दै गएँ। श्रीमानको खुसीले एक दिन घरमा सुख ल्याउला भन्ने आश थियो।
एकदिन अचानक श्रीमान बिरामी भएको खबर आयो। जसोतसो पैसा जुटाएर भारत पुगेँ। डाक्टरकहाँ जँचाउन लगेँ। उनलाई त कहिल्यै निको नहुने एचआईभीले पो समातेछ! छाँगाबाट खसे झ्ैं भयो। रगत जाँच्दा ममा चाहिँ एचआईभी देखिएन। एकपटक त दुवैजना आत्महत्या गर्न भनेर पनि कसियौं; तर फेरि केटाकेटीको अनुहार सम्झ्ेर उनलाई घरमा लिएर आएँ।
एचआईभीको कुरा अलि-अलि सुनिसकेकीले घर फर्कंदा कण्डम लिएर गएँ। उनी कण्डम लगाउन मान्दैनथे तर छोराछोरीकै लागि भए पनि बाँच्नुपर्छ भन्दै म उनलाई मनाउँथेँ। उनलाई रोगले अझ् च्याप्दै ल्यायो। एक रात उनले भने “हेर! म अब धेरै बाँच्दिनँ जस्तो छ, मेरो अन्तिम इच्छा पुर्याइदे; एकपटक कण्डम नलाई गर्न दे।” आफूले परमेश्वर मानेको पतिले त्यसो भन्दा एकछिन त मेरो बोली नै बन्द भयो, केही भन्नै सकिनँ। तैपनि आँट जुटाएर भनेँ, “छोराछोरीको लागि त म बाँच्नै पर्यो नि, त्यसो नगरौं!” मैले पहिलो पटक उनको इच्छा विरुद्ध बोलेकी थिएँ। तर, उनलाई त्यो मन परेन। उनले ठाडै भने, “म मरेपछि तँ किन बाँच्नुपर्यो?” त्यसपछि उनले मसँग जबर्जस्ती गरे; आफ्नो इच्छा पुर्याए। म लाचार भएँ।
त्यो घटना भएको केही समयपछि नै उनी बिते। रगत जाँच गराउँदा थाहा भयो, मलाई एचआईभीले समातेछ। घरमा सासू-ससुराले नानाथरि आरोप लगाए। मैले नै उनका छोरालाई एचआईभी सारेको समेत भने र अन्त्यमा छोराछोरीसहित घरबाट निकालिदिए। अहिले म यिनै छोराछोरीसँग बस्छु।
आज आएर श्रीमानसँग बिताएको जीवन सम्झ्ँदा लाग्छ, त्यतिबेला नाइँ भन्न सकेको भए मेरो जिन्दगी नै फरक हुने रहेछ! हामी महिलाले श्रीमानले जसो भन्यो त्यसै गर्दा तत्कालका लागि त श्रीमान खुसी होलान् तर चाहिएको ठाउँमा नाइँ भन्न सके, हाम्रो आफ्नो जिन्दगी खुसी र सुखी हुने रहेछ। सुदूरपश्चिमका धेरै महिलाहरूले मैले जस्तै नाइँ भन्न सिकेका छैनन्। अचेल म आफू जस्तै एचआईभी सङ्क्रमितसँग मिलेर काम गरिरहेकी छु। उनीहरूलाई चित्त नबुझ्ेको कुरामा नाइँ भन्न सक्नुपर्छ भनेर सिकाउने कोशिश गर्दैछु। मेरो भोगाइले मलाई यही कुरा सिकाएको छ। त्यसैले, म सबै दिदीबहिनीहरूलाई भन्छु― नाइँ भन्न सिक्नुस्!
राजन पराजुली