दीपक बास्तोला, चितवन, टाडी हाल कोरिया ।
महामहिम राजदूत ज्यू नेपाली दूतावास सउल, कोरिया ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन २००७ पछिको पहिलो गैरराणा प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला पुत्र तथा जननायक बि.पी. कोइराला र ऐतिहासिक लोकतान्त्रिक आन्दोलन २०६२-२०६३ का कमान्डर जी.पी.कोइरालाका भतिजा तपाई पारिवारिक लगावको मुलधारको राजनीति छोडेर बामपन्थी आन्दोलनको अग्रभागमा रहेर देश अनि जनताप्रतिको दायित्व तथा कर्तब्यबोध गरेकै कारणले ऐतिहासिक लोकतान्त्रिक सरकारले दक्षिण कोरियाको लागि प्रथम महामहिम दूतमा नियुक्ति गरेको हो ।
नेपाल र दक्षिण कोरिया बीचको बहुआयमिक सम्बन्ध सन् १९६९ मा कन्सुलर लेभलमा शुरु भएको थियो भने कोरियाद्वारा सन् १९७४ मा काठमाडौँमा र नेपालद्वारा सन् २००७ मा सउलमा दुतावास खोलेर यस सम्बन्धलाई अझ विस्तार गरिएको थियो । लोकतान्त्रिक सरकारले तपाईले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पुराएको अहम भूमिकालाई मध्यनजर गरेर नै राजदूत नियुक्ति गरेको थियो । दुई मुलुकबीचको बिद्यमान आपसी मैत्रिक सम्बन्धलाई प्रगाढ बनाउदै ऐतिहासिक ,सास्कृतिक, आर्थिक ,मैत्रिक तथा कुटनीतिक सम्बन्धलाई अझ अभिबृद्धि गरि नयाँ आयाम थप्न सकियोस भनेर नै राजदूत नियुक्ति गरिएको थियो । कोरियाले निर्माण, जलबिधुत, सडक, स्वास्थ्य बिज्ञान लगायत अन्य पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्दै आईरहेको छ र भविष्यमा सहयोगका अन्य क्षेत्रहरु अभिब्रिधि गर्नु, गराउनु तपाईको कर्तब्य हो ।
नेपालबाट विभिन्न बिषयमा अध्ययन गर्न आएका बिद्यार्थी हुन् वा घुम्न आएका पर्यटक तथा व्यापार गर्न आएका ब्यापारी किन नहुन, सबैलाई परेको बेलामा सहयोग गर्नु, आपतकालीन अवस्थाबाट पार लगाउनु तथा उचित सरसल्लाह ,परामर्श र मार्गनिर्देशन गर्ने काम पनि दूताबासको हो र यसको प्रमुखको नाताले तपाईको नै हो.यसको साथै नेपाल तथा कोरिया सरकार बीच २००७ सालमा भएको श्रमसम्झौता को जगमा टेकेर बैधानिक रुपमा कोरिया भित्रिएर रोजगारी गरिरहेका नेपाली युवाहरु, सो भन्दा अगाडी परीक्षार्थी कामदारका रुपमा भित्रिएर काम गरिहहेका साथीहरु र अन्य माध्यमबाट आएका कामदारहरुलाई आफ्नो कार्यक्षेत्रमा आईपर्ने समस्यालाई उजागरण गरि, समाधानका उपायाहरु पत्ता लगाई नेपाल सरकारलाई सिफारिस गर्ने समन्वयकर्ताको भूमिका पनि तपाईकै हो । त्यसकारण EPS -KLT परीक्षा पास गरेर कोरियामा रोजगारी गरिरहेको कामदार भएको नाताले नेपाली कामदारका समस्याहरु ,समाधानका उपायहरु र यसका लागि यहाँको तर्फबाट खेल्न सक्ने भूमिकाको बारेमा आफ्ना धाराणा राख्न अबगत गराउन चाहन्छु ।
समुन्द्रको छालसंग पैठेजोरी खेल्दै दिन, रात, साँझ, बिहान नभनी माछा, बिच्छी, अक्टोपस देख्दै डर लाग्ने सामुन्द्रिक किराहरु, डर लाग्दा सामुन्द्रिक जीवहरुसंग खेल्दै, २४सै घण्टा फिशिङका अन्य क्षेत्रहरुको अतिरिक्त पानीजहाजमा काम गर्ने साथीहरुको वास्तविक पीडा बुझ्न अनुरोध गर्दछु.समुन्द्रको छालसंग पैठेजोरी खेल्दै दिन ,रात, साँझ, बिहान नभनी २४सै घण्टा काम गरेर आफ्नो सुन्दर भविष्यको कल्पनामा जनवरी ,फेब्रुवरीको -२० डी.से.मा होस् वा जुलाई अगस्तको प्रचण्ड गर्मी नै किन नहोस ,कयौ दिन रात समुन्द्रमै बसेर सहकर्मी कोरियन साथीहरुको हेपाहा व्यवहारको कुनै पर्वाह नगरी ज्यान हत्केलामा राखेर काम गर्ने पीडितलाई सोध्नुहोस पींडा के हो, दुःख के हो ? ३० -४० किलोका सयौं बोरा खोंगहाप (सामुन्द्रिक शिपी), कुल( सामुन्द्रिक जीव) जहाजमा लोड अनलोड गरिरहेका साथीहरु हुन् वा सिरसिर सामुन्द्रिक हुरीको कुनै पर्बाह नगरी कठांग्रिने जाडोमा पानी भित्र हात डुबाउदै डोरी तानिरहेका साथीहरु किन नहुन, सबैको पींडा र कष्ट दर्दनिय र मननीय छ र बुझ्न जानका लागि महामहिमलाई अनुरोध गर्दछु ।
यसैगरि १५औ घण्टा एकोहोरो निहुरिएर साग टिप्दै गरेका दिदीबहिनी हुन् वा ठूल्ठूला फूलका गमलाहरु लोड-अनलोड गरिरहेका दाजुभाई किन नहुन ,गनाउने सुँगुर, बंगुरको खोरमा काम गरिरहेका साथीहरु देखि लिएर गाई, गोरुको गोठमा काम गर्ने साथीहरुको पीडा सुन्नका लागि म महामहिमलाई हार्दिक अनुरोध गर्दछु । श्रम सम्झौता पश्चात हालसम्म भित्रिएका करिब १० हजार नेपालीहरुको कर्म क्षेत्र दक्षिण कोरियामा उत्पादन, कृषि तथा पशुपालन र मत्स्यपालन गरि तीन किसिमका उधोगहरुमा काम गर्नेगरि भित्रिएका नेपाली साथीहरु कुनै न कुनै समस्या बाट पीडित त छदै छन् तर तुलनात्मक रुपमा फिशिङ र कृषिमा काम गर्ने साथीहरु बढी दुःखित छन् यस्ता उधोगमा काम गर्ने साथीहरुको हकमा विभिन्न सेवा र सुबिधाहरुबाट बंचित हुनेमात्र होइन SLL (STANDARD LABOUR LOW )समेत लागु नहुने प्राय:जसो बिदा नपाईने, पारिवारिक लगानीमा खोलिएका ज्यादै साना र थोरै कामदार भएका कम्पनीहरुमा काम गर्नुपर्ने हुन्छ । समयमै तलब नदिने, महिनौंसम्म समुन्द्रमा बस्नु पर्ने, कामको चाप बढी भएको बेलामा काममा लगाएर पछि विभिन्न मिथ्या आरोप लगाएर निकालिन सक्ने हुदा कामबाट हात धुनु पर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा ज्यादै कठिनका साथ काम गरिरहेका साथीहरुलाई उद्धार गरि सकेसम्म सजिलोसंग काम गर्न सकिने क्षेत्रहरुमा स्थान्तरण गर्न पहल गर्ने दायित्व कसको हो, महामहिम ज्युले एकपटक मनन गर्नु होला ।
यसरी कयौं दुख र काष्ठका साथ नेपाली साथीहरु फिसरी र कृषिमा दिन कटाई रहेका छन् । प्राय:जसो भागेर गैरकानुनी रुपमा उत्पादनशील कारखानाहरुमा काम गरिरहेका पनि छन् तर यो समस्याको समाधान होइन, किनकि भागेर गैरकानुनी भएका कामदारहरुले कोरिया सरकारद्वारा बैधानिक बिदेशी कामदारले पाउने विभिन्न सेवा तथा सुबिधाबाट बन्चित हुदै उस्तै परे इम्मिग्रेशनको छड्केमा परेर रित्तै हात घर फर्कने अवस्था पनि आउन सक्छ । उनीहरु फेरि नेपालमा ब्याप्त चरम बेरोजगारीको भट्टीमा प्रवेश गर्न बाध्य हुन्छन । उनीहरुमा आश्रित परिवार, फेरिएको नेपालीको जीवन शैली, भैबव बिनाको रवाफ, मेहनत बिनाको मिठो फल खोज्ने नेपालीपन, धन दौलत र पैसा आर्जनलाई उसको सफलतासंग जोडेर पुज्ने द्रब्यप्रेमी नेपाली सामाजिक संरचना, गरिबीका बिशाल पहाडहरुको बीचमा गैरजिम्मेवार सरकारी निकाय सम्झेर जस्तो सुकै समस्यासंग जुधेर भए पनि साथीहरु काम गरि रहेका छन् । जुनसुकै बेला जे पनि हुन सक्छ तर आफ्नो ज्यान हत्केलामा राखेर ज्यादै कठिन काम गर्ने कामदार साथीहरुको पीडा कसले सुनि दिने महोदय ?
महोदय जीवनमा एउटा मात्रै राम्रो र उपलब्धि मुलक काम गरेर पनि विश्व प्रशिद्ध हुने धेरै मान्छे छन् । सार्थक प्रयासले १ जनाको मात्रै उद्दार हुदा मात्रै पनि हजारौको वाह-वाह पाउन सकिन्छ र त्यसले मानब जीवनमा सकारात्मक प्रभाव परेको हुन्छ । त्यसकारण तपाईको एउटा सानो प्रयासले यहाँका हजारौ पीडित नेपालीको उद्धार हुन सक्छ । उनीहरुको न्यायोचित माग सुनुवाई भएको खण्डमा उनीहरुमा आश्रित परिवारको उद्दार हुन सक्छ, जोखिमलाई न्यूनीकरण गरि सहज र सरल तरिकाले काम गरि देशमा भित्रिने रेमिटेन्समा बृद्धि पनि हुन्छ यहाकै सार्थक पहल र सिफारिस तथा नेपालीहरुको लगनशीलपूर्ण मेहनतले गर्दा EPS २०११ को कोटा ७,000 बाट बढेर १५०० पुगेको सर्बबिदितै छ । त्यसकारण अर्को सार्थक र न्यायोचित काम गर्दै स्पष्ट कुटनीतिक पहल गर्न यसै पत्र मार्फत श्रीमानमा अनुरोध गर्दछु ।
यो थोरै कमाई भएर धेरै कमाउने अभिलाषा सहित को डाह होइन, पीडित हरुको आत्मिक चाह हो, यो मेरो सन्की मनको कुरा मात्रै होइन, सम्पूर्ण दुःखित आत्माहरुको आर्तनाद हो । यहाँ बुझ्नु, बुझाउनु र अनुरोध गर्नु पर्ने कुरो के हो भने हामी यस्तो गाह्रो, अप्ठ्यारो, पीडादायक काममा जानेर, बुझेर भएपनि नआउनुपर्ने थियो । हामी नेपालीहरु पाउ राख्ने ठाउँ नपाएर भौतारिनु पर्ने अभागी थिएनौं तर चरम महत्वकांक्षाले जन्माएको अभाव र गरिबी तथा त्यसले जन्माएको दुःखदायी र यातनामय दिनहरुबाट छुटकारा पाउने नाममा नजानी, नबुझी हचुवाको भरमा Labour Contract मा सहि गरि हतारमा बिगारेर फुर्सदमा पछुताउने भुक्तभोगी थियौं .यसमा समयमा सही सूचना नदिएर EPS नेपाल कार्यालय र कोरियास्थित नेपाली दुताबासले दुःखको सागरमा हामफाल्न हामीलाई प्रेरित गरेकै हो । अब दुःख र उत्पीडनको भुंग्रोमा परिसकेका अभागीहरुलाई खुच्चिंग भनि लोप्रेहात लगाउनुको साटो उचित ठाउमा स्थानन्तरण गर्न सार्थक पहल गरि दुःखिका चराईरहेका घाउहरुमा मल्हम लगाउनु बेश हुने थियो होइन र महामहिम ज्यू ?
त्यसकारण तपाईको बाँकी रहेको एकदुई महिनाको कार्यकाल भित्रमा तपाईले गर्ने बिशेष कामहरुले तपाईको ४ बर्षे कार्यकालको औचित्य पुष्टि गर्ने हुदा बांकी रहेको समयमा विभिन्न संघसस्थाहरुले आयोजना गर्ने संस्कृतिक कार्यक्रममा धाउनु भन्दा पीडितहरुको पीडा बुझ्न दिमाग लगाउनु राम्रो हुने थियो कि? विभिन्न स्टेजमा गएर साँस्कृतिक कार्यक्रम उद्घाटन गरि नाच्ने अभिलाषा राख्नु भयो भने, परिणाममुखी भन्दा प्रचार मुखी काम गरि सस्तो लोकप्रियता आर्जन गर्न अग्रसर हुनु भयो भने कोरियाको पहिले दूतको रुपमा दूताबासको भित्तामा फोटो झुन्ड्याएर नेपाल फर्किनु हुनेछ तर सार्थक कुटनीतिक पहल गरेर पीडित नेपालीलाई दुःख र समस्याबाट पार लगाउनु भयो भने संसार भरि छरिएका सम्पूर्ण पीडित नेपालीहरुका आदर्शका पात्र हुनु हुनेछ । तपाईको दसकौं लामो राजनीतिक जीवनले सार्थकता पाउने थियो । सबै भन्दा विश्वासिला र सर्बाधिक रुचाईएका कामदार ल्याउने देश नेपालको सरकारले गरेको सानो अनुरोधलाई कोरिया सरकारले सहज तरिकाले स्वीकार गर्ला कदाचित नगरेपनि केहि सोच्न बाध्य हुन्छ भन्नेमा म बिश्वस्त छु र सोहि अनुरोध गर्न चाहन्छु । त्यसकारण सार्थक पहल गर्नुहोस्, तपाइको कार्यकालमा पुरा नहोला तर नयाँ आउनेलाई तपाइको कामले मार्गनिर्देश गरोस् हामी कामना गरौँ न्यायिक मागको सुनुवाई भई समाधान तर्फ सार्थक पहल होस् । धन्यवाद ।