"बिहानी पख के देखें सपना बिरानो ठाउँमा
चिन्ताले घेर्यो अशुभ भयो कि गैरी त्यो गाउँमा
सम्झना कति खबर छैन परदेशको ठाउँमा"
हो, उनै गायक हुन् पारस राई । बुवा नरभक्त राई र आमा दिल शोभा राईको कोखबाट खोटाङ सप्तेश्वर ८ मा जन्मनु भएका उनी हाम्रो माझ लगभग १ बर्ष अगाडि यहि गीतको माध्यमबाट कोरियामा बसोवास गर्ने नेपालीहरुलाई आफ्नो परदेशमा रहेका आफ्ना मायाको औ आफ्ना प्यारा मानिसहरुको सम्झना दिलाउंथे ।
परदेशको रुपमा रहेको यहि भूमि कोरियामा बसी उनले आफ्नो गायन क्षेत्रलाई आफ्नो अभिन्न अंगको रुपमा राखी लुम्बिनी म्यानपावर मार्फत लगभग ६ बर्ष परदेश मैं बिताए पनि आफ्नो गायन क्षेत्रलाई निरन्तरता दिन कहिल्यै भुलेनन् । सानै देखि गायन क्षेत्रमा रुचि भएका उनी गायनको क्षेत्र मार्फत आफुलाई चिनाउन चाहन्थे । जस अनुरुप २००३ मै उनले आफ्ना साथीहरुसंग मिली स्यामुना बैण्डको स्थापना गरे र सोही ब्याण्ड मार्फत आफ्नो जीवनको पहिलो एल्बम हेराईमा श्रोताहरु माझ ल्याए ।
साथीहरु संगै मिली ड्रिमेबल आईज (Dreamable Eyes) नामक दोस्रो एल्बम बजारमा ल्याए । गायन पेशालाई निरन्तरता दिएपनि नेपालमा गाएर मात्रै जीवन धान्न मुस्किल पर्ने भएर बिवश भई उनले दक्षिण कोरियालाई आफ्नो कर्मभूमि बनाउन बाध्य भए तर यहाँ बस्दाबस्दै पनि उनले आफ्नो कामका साथै गायन क्षेत्रलाई पनि निरन्तरता दिए । फलतः उनले कोरिया मै बसी परदेश नामक सोलो एल्बम निकाल्न सफल भए । अब उनी भन्छन् "चौथो एल्बमको तयारी हुंदैछ र तीन चार महिना पछि चौथो एल्बम निकाल्ने प्रयासमा छु" ।
गायन पेशालाई नै आफ्नो जीवनको सार मान्ने उनी कोरियाबाट बिदा भई नेपाल फर्किसकेका थिए तर २०११ को सेप्टेम्बरमा कोरियाली महान् चाड छुसकको अवसर पारी सोलुखुम्बु सम्पर्क समितिद्वारा आयोजित सगरमाथा साँस्कृतिक कार्यक्रममा उनलाई नेपालबाट गीत गाउनका लागि निमन्त्रणा गरियो । नेपालमा पपस्टार मानिने राजेश पायल राई र कोपिला गिरीको साथ पाई कोरियामा बस्ने नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाई उनी नेपाल नै फर्के र पुनः किराँत याक्थुङ चुम्लुङको चासोक ताङनाम कार्यक्रममा निमन्त्रणा पाई कोरिया आएका छन् । चासोक ताङनाम पनि सम्पन्न भैसकेको छ भने हाल उनी कोरिया मै बसी MWTV को सहयोगमा आफ्नो गीतको म्युजिक भिडियो निकाल्ने तयारीमा लागेका छन् ।
राम्रो पढेर ठुलो मान्छे बनोस् भन्थिन् उनकी आमा दिल शोभा राई । बुवा ब्रिटिश आर्मी थिए । उनी १३ बर्षको हुँदा बुवाको हङकङमा देहावसान भयो । जसका कारण बाल्यावस्था केही रुपमा कष्ठकर भएको उनी बताउंछन् । ३ दाजुभाइ मध्ये माईलो उनको बाल्यावस्था गाउँ मै बित्यो । स्कुल र क्याम्पस पढ्दा पढ्दै उनी साथीभाइहरुको सहयोगमा केही साँस्कृतिक कार्यक्रमहरुमा गाउन शुरु गरिसकेका उनले क्यापस शुरु भएपछि आफ्ना गुरु कामत समक्ष बिसं २०५१ मा भोकल टेष्ट दिंदा उनको स्वर सुनी एकैचोटी माथिल्लो लेबलमा पुर्याईदिए । उनको स्वर सुनी गुरु कामतले उनलाई उदीत नारायणको दर्जा दिएका थिए ।
"संगीत एउटा गहिरो सागर हो जहाँ जति डुबुल्की मारे पनि यसको पीढ नाप्न सकिंदैन र जति डुबुल्की मार्यो त्यति रमाईलो हुन्छ" उनी भन्छन् "संगीतको माध्यमबाट म आफुलाई छुट्टै पहिचान दिलाउन चाहान्छु" । उनी आफुलाई मेलोडियस गायक भन्न रुचाउंछन् र फुर्सदको समयमा केलाश खेरको संगीतबाट मन्त्रमुग्ध हुन चाहान्छन् । मेहेदी हसन दीप श्रेष्ठ उनलाई मनपर्ने गायक हुन् र हाल उनी राजेश पायल राईबाट प्रभाबित भएको बताउंछन् ।
उनी जस्तै गायन पेशा अंगालेर संगीत क्षेत्रमा लाग्न चाहनेहरुलाई उनी संगीत क्षेत्रमा लाग्न साधना चाहिन्छ, संगीतको साधना गरेर यसमा निपुण भएर मात्र यस क्षेत्रमा लाग्न अनुरोध गर्छन् । आजको दिनसम्म आउंदा उनलाई सहयोग गर्नेहरुको नाममा ह्वासङसीका शुवर्ण दाजु, देउरालीका खगेन्द्र गुरुङ, रामकाजी गुरुङ, उत्तम गुरुङ, गंगाराई, रघुजी अनि ह्वासङ दोङका परिवारको नाम कहिल्यै छुटाउन चाहंदैनन् । "बैशाख महिनामा दुबईको लागि कन्ट्याक्ट भएको छ" उनी भन्छन् "गायन क्षेत्रमा लागेर केही गरेर देखाउंछु यो पारस राईलाई सम्झिराख्नुहोला ।"